खाडी मुलुकमा घरेलु काम (हाउसमेड) मा काम गर्ने महिलाहरू शारीरिकदेखि
यौन शोषणसम्ममा पर्ने हुँदा सेवा सुविधा र सुरक्षाको हिसाबले उनीहरूका लागि
क्लिनर काम उपयुक्त छ। श्रम ऐनले समेट्ने तथा हाउसमेडको भन्दा बढी सेवा
सुविधा र पारिश्रमिक पाउने भएकाले महिलाका लागि क्लिनर सुरक्षित छ। केही
समयअघि सयुक्त अरब इमिरेट्स (यूएई) र कतारको नेपाली कामदारको अध्ययनका लागि
श्रम तथा रोजगार मन्त्रालयका सचिवको नेतृत्वमा व्यवसायीसहितको टोलीले
भ्रमण गएका महिला कामदारका लागि क्लिनर सुरक्षित रहेको निष्कर्षमा
निकालेको छ। महिलाहरू पुरूषको तुलनामा शारीरिक रूपमा कमजोर हुन्छन्। यसैले
अशिक्षित महिलाका लागि क्लिनर उपयुक्त छ। हाउसमेडमा कार्यरत महिलाको यस्तो
समस्या रहेको तथा तुलनात्मक रूपमा उस्तै काम क्लिनर रहेकाले यसमा उपयुक्त
रहेको अध्ययन टोलीका एक सदस्यले बताए।
अहिले सबभन्दा बढी हाउसमेडमा पेसामा कार्यरत महिला बढी समस्यामा छन्। न्यून
पारिश्रमिक दिने, साहूले पिट्ने, यौन शोषण गर्ने, घरमा सम्पर्क गर्न
नदिने, करार अवधि सकेर पनि घर जान नदिनेलगायत समस्या घरेलु महिला कामदारलाई
छ। कतार, साउदी अरब र कुवेतलगायत मुलुकमा विभिन्न समस्यामा परेर
त्यहाँस्थित नेपाली दूतावासमा शरणमा आउने गर्छन्। खाडीको नेपाली दूतावासमा
१०/१२ जना मात्र बस्न सक्ने सुरक्षित गृह छ तर समस्या परेर बढी आउने
भएकाले ४०/५० जना सम्म पनि राख्नुपर्ने अवस्था छ। घरेलु काममा गएका
कामदारको समस्या बढेको बढ्यै छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निमित्त
कार्यकारी निर्देशक गिरिजा शर्माका अनुसार घरेलु काममा महिला कामदार
असुरक्षित हुने सम्भावना धेरै छ। उनीहरूले गर्न सकिने काम क्लिनर पेसा
सुरक्षित रहेकाले यसमा पठाउन जोड दिनुपर्छ। ‘घरेलु काममा समस्या समस्यै
लिएर नेपाली दूतावास आएको देख्यौं, भर्खरै मात्र यूएई र कतारमा नेपाली
कामदारको अवस्था बुझ्न पुगेका भ्रमण टोलीका एक सदस्यसमेत रहेका शर्माले
भने, ‘साहूबाट कुटाइ खानेदेखि विभिन्न शोषण महिलाले भोग्दा रहेछन्। यसले
जटिल समस्या निम्त्याएको छ।’
नेपाली दूतावासले खाडी मुलुकको स्पोन्सरको घर–घरमा नेपाली महिला कामदार छ,
छैन निरीक्षण र अनुगमन गर्ने कानुनी अधिकार नरहेको निमित्त कार्यकारी
निर्दशक शर्माले बताइन्। ‘महिला कामदारहरू सुरक्षित छ/छैन, पारिश्रमिक सेवा
सुविधा दिइरहेका छन्/छैनन् भन्नका लागि स्पोन्सरको घरमा जान पाइँदैन,’
उनले भनिन्, ‘दूतावासमा आएपछि मात्र यस्तो समस्या परेको थाहा हुन्छ। श्रम
ऐनले नसमेटेकै कारण क्षतिपूर्ति दिन सकिँदैन।’ घरेलु काममा एक छाक खाना
खाएर पनि १८ घण्टाभन्दा बढी काम गर्नुपर्ने बाध्यता छ। ‘संगठित क्षेत्रमा
भएकाले क्निलरमा काम महिलाका लागि उपयुक्त छ,’ शर्माले भनिन्, ‘काम दैनिक
आठ घण्टाभन्दा बढी गर्नुपर्दैन। सोभन्दा बढी समय गरे ओभरटाइम रकम पाउँछन्।’
हस्पिटल, तेल कम्पनी, सुपरमार्केट, होटल रेस्टुराँलगायतमा क्निलर पेसामा
माग छ।
क्लिनर पेसा संगठित क्षेत्र रहेको तथा श्रम ऐनले समेट्ने भएकाले
हाउसमेडभन्दा त्यहाँ कमाई र सुरक्षाको हिसावले राम्रो रहेको नेपाल वैदेशिक
रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले बताए।
‘हाउसमेडमा जाने महिलाहरू विभिन्न समस्या परेको देखियो,’ उनले भने, ‘बढी
समय काम गर्नुपर्ने, थोरै पारिश्रमिक दिनेलगायत शारीरिक शोषणमा पनि परेका
छन्। नपढेका महिलाका लागि क्लिनर नै सुक्षित छ।’ महिलाका लागि अनिवार्य
नेपाली दुतवासमा प्रमाणीकरण गर्नुपर्ने भएकाले माग ल्याउन झन्झट भएको
अध्यक्ष तामाङले बताए। ‘हाउसमेड असंगठित क्षेत्र हो र व्यक्तिगत भिसा बढी
आउँछन्, त्यसमा दूतावासको प्रमाणीकरण अनिवार्य राख्नुपर्छ’ उनले भने,
‘क्लिनर संगठित क्षेत्र रहेकाले त्यसमा महिलाका लागि अनिवार्य दूतावासमा
प्रमाणीकरण गर्नुपर्ने प्रावधान हटाउनुपर्छ।
यसले क्लिनरमा माग बढ्छ।’ उनका अनुसार क्निलरमा आठ घण्टा काम र सातामा एक
दिन बिदा पाउँछन् तर हाउसमेडमा जति घण्टामा पनि काम गरेको गरेकै हुनुपर्छ।