Saturday, January 19, 2013

जीसीआई खेतीदेखि पर्यटनसम्म

२२ डिसेम्बर २०१२
–किसन राई
हङकङ । ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट (जीसीआई)ले अर्गानिक खेतीदेखि पर्यटनसम्मका आफ्ना परियोजना सार्वजनिक गरेको छ ।
इण्डिया क्लवमा १६ डिसेम्बरका दिन सम्पन्न जानकारीसभामार्फत कम्पनीका अध्यक्ष देवमान हिराचनले परियोजनाको बेलीबिस्तार लगाएका थिए । उनका अनुसार कम्पनीले कृषि, व्यापार, उद्योग, विद्युत, आवास, यातायात, पर्यटनलगायतमा लगानी गर्ने छ ।
उनले कृषि क्षेत्रमा अत्याधुनिक उपकरण प्रयोग, अर्गानिक खाद्यन्न उत्पादन, स्वदेशदेखि विदेशसम्म विक्री–वितरण गर्ने लक्ष्य रहेको बताएका थिए । उक्त परियोजना अन्तर्गत विशेषज्ञद्वारा कृषकहरुलाई तालिम दिइने र गुणस्तरीय उत्पादनमा जोड दिने उद्देश्य रहेको जानकारी गराइएको थियो ।
हिराचनले चुम्बक, सौर्य र वायुबाट विद्युत उत्पादनका लागि जापानी प्रविधि प्रयोग गर्न राष्ट्रपति, प्रधानमन्त्रीलगायत मन्त्रीहरुसंग छलफल भइसकेको दावी गरेका थिए । उनका अनुसार चुम्बकीय शक्तिबाट फोहोर व्यवस्थापनको लागि जापानी प्राविधिकहरुसंग छलफल तथा परामर्श लिने काम भइरहेको छ ।
काठमाडौंमा निर्माण हुने रियल स्टेटका लागि जग्गा हेर्ने काम र घरका डिजायन तयार भइसकेको जानकारी गराएका थिए । सोही क्रममा उनले पोखराको सारङकोटमा रिजोर्ट संचालनको लागि जग्गा पहिचान भइसकेको जानकारी गराएका थिए ।
कम्पनी प्रवर्द्धनका लागि आयरल्याण्ड र दुवईपश्चात हङकङ आएका अध्यक्ष हिराचनले कम्पनी शेयरको बारेमा व्याख्या गर्दै ५० हजार रुपैयाँ लगानी गर्ने शेयरधनी र तत्काल ५० लाखदेखि माथि लगानी गर्ने बोर्ड सदस्य बन्ने जनाएका थिए । उनले प्रति शेयरको मूल्य १ सय रहेको बताउँदै शेयरधनी निश्चित संख्यामा पुगेपछि बोर्ड सदस्यको लागि निर्वाचन हुने बताएका थिए ।
कम्पनी बोर्ड सदस्य तथा कार्यक्रमका विशेष अतिथि कोरिया संयोजक गंगाराज राईले पनि सम्बोधन गरेको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष जगन्नाथ ज्ञवाली, गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष दुर्गाबहादुर गुरुङ र एनआरएनए एशिया प्यासफिक क्षेत्रीय संयोजक यमकुमार गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अर्का बोर्ड सदस्य ललित आङबुहाङ सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्तमा उनकै संयोजकत्वमा सात सदस्यीय हङकङ संयोजन समिति घोषणा गरिएको थियो । उक्त समितिमा जसबहादुर ओख्राबू, हेम लावती, प्रदीप कन्दङवा, सुरेन लिम्बू, रमेश मोक्तान र लक्ष्मीप्रसाद लिम्बू रहेका छन् ।
यहाँपश्चात मकाउ, ग्वाङझाउलगायतमा जानकारीसभामार्फत प्रवर्द्धन कार्यक्रम रहेको हङकङ संयोजक आङबुहाङले बताएका छन् ।