Saturday, January 19, 2013

कतारमा पहिलो महिला समाजिक संस्था स्थापना

कतारमा कार्यरत् नेपाली महिलाहरुद्धारा गठित पहिलो महिला समाजिक संस्थामा रेखा राई अध्यक्ष
 कतारमा कार्यरत् नेपाली महिलाहरुको अग्रसरता र सक्रियतामा गतहप्ता नेपाली महिला समाज, दोहा कतार नामक नयाँ संस्था गठन गरिएको छ ।


कतारमा रहेको सय  भन्दा बढी संघसस्थाहरु नेपाली समुदायमा रहेपनि नेपाली महिलाहरुको नेतृत्वमा कुनैपनि सस्था नभएको र विभिन्न कम्पनीहरुमा कार्यरत् नेपाली महिलाहरु एकठाँउमा जुटेर गठन गरिएको यो संस्थानै कतारमा कार्यरत् नेपाली महिलाहरुको प्रथम सामाजिक संस्था बन्न पुगेको छ ।  वैदेशिक रोजगारीको सिलसिलामा कतारको विभिन्न क्षेत्रमा काम गर्नका लागि नेपालबाट नेपाली महिलाहरुको संख्या पनि उल्लेख्य रुपमा वृद्धि हुदै गईरहेको छ । कतारमा कार्यरत् तथा नयाँ आईरहेकाहरुको वारेमा सुसुचित हुन तथा सामाजिक सचेतना अभिवृद्धी गर्दै नेपाली महिलाहरुलाई आइपर्ने समस्या तथा आपत्विपत्का वेला सबैजना एकजुट भएर सहयोगको पहल गर्ने, संभव भएसम्म नेपाली महिलाहरुको तथ्यांक समेत संकलन गर्ने, दुतावाससंग समन्वय र सहकार्य गर्दै महिला दिदीबहिनीका लागि महिला दिदीबहिनीहरुसंग, दिदीबहिनीहरुद्धारा नै समन्वय र सदभाव बढाउदै जानका लागि महिलाहरु एकठाँउमा रहन संस्थागत हुनुपर्ने आवश्यकतालाई दृष्टिगत गरेर विशुद्ध सामाजिक संस्थाको रुपमा महिला समाज गठन गरिएको हो ।  
 कतारमा कार्यरत सक्रिय महिला रेखा राईको अध्यक्षतामा गठीत महिलाहरुको सो समाजमा रोजिना बास्तोला उपाध्यक्ष, आमिना खाँन सचिव र अनिता उँराव कोषाध्यक्ष रहेकाछन् अन्य सदस्यहरुमा  खिम कुमारी, सीता कुमारी सापकोटा, चम्फ खनाल, मीरा गौतम, मोतीकला बस्नेत, सपना लिम्बु, लक्ष्मी श्रेष्ठ, रीता देवी र पूर्णमाया राई रहेकाछन् । सल्लाहकार समितिमा सोया दाहाल, कमला गिरी, चाँदनी चौधरी, जीवन खतिवडा, एलिसा गुरुङ्ग र रमिता कुमारी कुश्वाल रहेकाछन् ।


नेपाली दुतावासस्थित कतारमा पनि नेपाल सरकारले महिला राजदुत नियुक्त गरेर पठाएपछि कतारमा कार्यरत श्रमिक महिलाहरु, परिवारका साथमा रहेका महिला गृहिणीहरु तथा महिला व्यवसायीहरु निकै उत्साहित हुदै सामाजिक संलग्नतामा अग्रसर हुन थालेका छन् भने नेपाली महिलाहरुका विच एकअर्कामा सदभाव र सम्बन्ध सुमधर गर्दै जानुपर्ने आवश्यकता र सन्देश पनि यो महिला भेलाले स्पष्ट रुपमा दिएको देखियो ।
 अफिस, क्लिनिङ्ग, सुपरमार्केट, हाइपर मार्केट, घरेलुकामदार लगायतका क्षेत्रमा निकै ठूलो संस्थामा नेपाली महिला कामदारहरु  कतारमा कार्यरत् रहेका भएपनि उनीहरु यतिनै छन् भन्ने तथ्याङ्गक नभएको र घरेलू कामदारमात्र होइन बाहिर क्लिनिङ्ग लगायत विभिन्न क्षेत्रमा कामगर्ने महिलाहरु समेत आपतविपत्मा पर्नेगरेका र उनीहरु पनि सहयोग र उद्धारको लागि दुतावासको सेल्टरमा आउने क्रम बढ्दो छ ।
कतारमा सयभन्दा बढी संस्थाहरु स्थापित भएका भएपनि महिलाहरुको नेतृत्वमा एउटा संस्थापनि आजसम्म छैन र एनआरएनएमा रहेका महिला प्रतिनिधीहरु नेपाली महिला कामदारहरुका वारेमा, उनीहरुको अवस्था र कामको वारेमा आजसम्म एनआरएनएमा रहेका महिला प्रतिनिधीहरु वेखवर नै रहेको जनाइएको छ ।
 नवगठीत समाजका अध्यक्ष रेखा राईले अब महिलाहरु आफैपनि जुटेर संस्थागत रुपमा कतारमा कार्यरत् नेपाली महिला कामदारहरु एकढिक्को हुनु आवश्यक भएको बताउदै कतारमा राजदुतको रुपमा महिला राजदुत आउदा हामी महिला दिदीबहिनीहरुलाई एककिसिमको साहस र थप उत्साह भएको छ त्यसैको फलस्वरुप अव महिलापनि समाजका लागि, सचेतताको लागि, महिला ऐक्यवद्धताको लागि जुट्नु पर्ने आवश्यकता टड्कारो भएको र अब चुप लागेर बस्नु हुन्न भन्ने भावना जागेर आएको बताइन् ।
अध्यक्ष रेखा राईले बताइन् नेपाली समुदायमा नेपाली दाजुभाईहरु प्रशस्त संसघसस्थामा आवद्ध भएकाछन् र धेरैथोरै नेपाली समुदायका लागि काम पनि गरिरहेकाछन् भने महिला दिदीबहिनीहरुले संख्यात्मक रुपमा निकै धेरै रहेका महिला दिदीबहिनीहरु कै लागि पनि संस्थागत हुनु राम्रो हुनेछ भन्ने भावनाले दिदीबहिनीहरुलाई समेटेर विशुद्ध संस्था स्थापना गरेको हो यस संस्थालाई कतारमा कार्यरत् सम्पूर्ण नेपाली दिदीबहिनी तथा विभिन्न संघसस्थाहरुको सहयोगको अपेक्षा पनि गरेका  छौं
 सोही दिन नेपाल महिला समाजको प्रथम बैठक रेखा राईको अध्यक्षमा बसेको थियो । सबै सहभागीहरुलाई नेपाल महिला समाजको तर्फबाट अध्यक्षले धन्यवाद दिदै नेपाली दुतावासका महामहिम राजदुत डा. मायाकुमारी शर्मासंग औपचारिक भेटघाट गर्ने, समाजको कोष संचालन गर्ने, नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजलाई भव्यरुपमा मनाउने र करीव ३० महिना अघि कतारमा मृत्यु भएका मकवानपुरका नन्दप्रसाद सापकोटाको क्षतिपुर्ति तथा विमा रकमको लागि दुतावाससंग आवश्यक पहल गर्नेजस्ता निर्णयहरु प्रथम बैठकमा गरिएका थिए ।
स्मरणरहोस् कतारमा स्व. नन्द प्रसाद सापकोटाका धर्मपत्नी हाल कतारमा कार्यरत् सीता कुमारी सापकोटाले आफ्ना श्रीमान स्व.सापकोटाको क्षतिपुर्ति तथा विमा आजसम्म कहि कतैबाट पाएकी छैनन् र पाउने नपाउने वारेमा पनि उनी अहिलेसम्म कहिकतैबाट पहल नभएकोले वेखवर रहेकीछिन् ।
नेपाली महिला समाज स्थापनार्थ एनआरएनए एनसीसी प्रतिनिधीद्धय माला डंगोल, तारा भट्टराई तथा व्यवसायी परिवार सुनिता पाण्डे, चाँदनी सिंह लगायतको उपस्थिति रहेको भएपनि उनीहरुसमिति निर्माण हुन अघि कार्यक्रम नसकिदै कार्यक्रम स्थलबाट निस्केका थिए ।

कतारमा कार्यरत् नेपाली महिलाहरुद्धारा नै नेपाली महिलाहरुको सामाजिक संस्था पहिलोपल्ट स्थापना हुन लागेको समाचारले कतारमा रहेका नेपाली समुदायका अगुवाहरु रामहरी गैरे, अर्जुन भट्टराई, मक्सुद आलम, रमेश भट्ट, विमल सुवेदी लगायत अन्य संघसंस्थाका प्रतिनिधीहरुको पनि विशेष चासो रहेको देखिएको थियो ।

http://www.nrnaksa.org