क्वालालम्पुर
मलेसियाको रोजगारीलाई व्यवस्थित, मर्यादित र उपलव्धीमुलक वनाउन कामदार,
नेपाल र मलेसियामा कार्यरत वैदेशिक रोजगार व्यवसायी एवं नेपाली दूतावासले
आ–आफ्नो भूमिका र जिम्मेवारीलाई पारदर्शीरुपले वहन गर्नुपर्नेमा
सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले मलेसियामा रहेको नेपाली
दूतावासले कामदर हकहीतमा कुनै काम नगरेको आरोप लगाएका छन् । वैदेशिक रोजगार
पत्रकार समाजले मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना गरेको
‘मलेसियामा नेपालीहरुको रोजगारी र चुनौति र संभावनाहरु’ विषयक एक विशेष
अन्र्तक्रिया कार्यक्रममा वत्ताहरुले सो कुरामा उल्लेख गरेका हुन् ।
मलेसियास्थित नेपाली राजदूतावासका श्रम सहचारी अमलकिरण ढकालको प्रमुख
आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा वोल्दै नेपाल वैदेशिक रोजगार
व्यवसायी संघका द्वितिय उपाध्यक्ष कुमुद खनालले मलेसियामा नेपाली रोजगारीको
भविष्य सुनिश्चित गर्न कमिशनको खेललाई तत्काल रोक्नुपर्ने वताउनुभयो ।
मलेसियाले सुरक्षा गार्डमा गोर्खा गार्डका रुपमा नेपाली मात्र लिने निर्णय
गरेको अवस्थामा पनि नेपाली मेनपावरहरुले पैसा वढावढ गरेर माग तान्ने
दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको उपाध्यक्ष खनालको कथन थियो । त्यस्तै
गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकर पौडेलले आवश्यक कागजपत्रको
अभावमा विदेशमा काम गर्न आउँदा दुःख झेल्नुपर्ने उल्लेख गर्दै कामदारलाई
यथार्थ कुरा वताएर मात्र वैदेशिक रोजगारमा पठाउन जोड दिनुभयो ।
अन्र्तक्रिया कार्यक्रमको स्थानीय संयोजक समेत रहनुभएका नेपाल मलेसिया
वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष हरि भट्टराईले समस्याको जड धेरै
रहेको, नेपाली मेनपावर कम्पनी स्थानीयस्तरमा कामदारसम्म पुग्न नसकी
एजेण्टको भर पर्नु परेको, नेपाली मेनपावर व्यवसायीहरुले मलेसियाबाट डिमाण्ड
लिने नाममा पैसाको चलखेल बढाउने गरेको र नेपाली राजदूतावासले नेपाली
कामदारका हक, हितका पक्षमा ठोस भूमिका खेल्न नसकेको उल्लेख गर्दै सरकारले
वैदेशिक रोजगारका नीति, नियमहरु समय सापेक्ष बनाउन नसकेकै कारण पनि
समस्याहरु थपिदै गएको उल्लेख गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा मलेसियामा रहेका कामदारका प्रतिनिधिहरु,
व्यवसायीहरु, स्थानीय सञ्चारकर्मीहरु तथा विभिन्न संघसंस्थाका
प्रतिनिधिहरुले मेनपावर कम्पनीहरुले जथाभावी रकम लिने गरेको, नराम्रा
कम्पनीमा समेत कामदार पठाउने गरेको, दूतावासका कर्मचारीहरुले एजेन्टको काम
गर्ने गरेको जस्ता विषयहरु उठाएका थिए । अन्तरक्रिया कार्यक्रममा
सहभागीहरुले अधिकांश रुपमा दूतावासका बारेमा प्रश्न तेस्र्याउँदै दूतावासका
कर्मचारीहरु व्यक्तिगत लाभका लागि दौडिने गरेको, कामदारका समस्यालाई
प्रायः वेवास्ता गर्ने गरेको, दबाव र कमिसनमा मात्र काम गर्ने गरेको आरोप
लगाएका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै र दूतावासका बारेमा
सहभागीद्धारा उठाइएका जिज्ञासाहरुको जवाफ दिदै श्रम सहचारी ढकालले मलेसिया
आउने कामदारलाई मलेसियाको कमाई र बसाई बारे यथार्थ जानकारी गराएर
पठाउनुपर्ने, मलेसियामा अवैधरुपमा बस्न नहुने र कामदार माथि भार बढ्ने गरी
व्यवसायीहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने धारणा राख्नुभयो । उहाँले
दूतावासको कार्य क्षेत्र र सीमाका बीच कामदारका कतिपय समस्या समाधान गर्न
ढिलाई भइरहेको स्वीकार गर्दै दूतावासको श्रोत र साधन बढाउने तर्फ पहल
भइरहेको जानकारी दिनुभयो ।
समाजका महासचिव मानछिरिङ तामाङले स्वागत मन्तव्य, सचिव हरि थापाले
धन्यवाद ज्ञापन र कार्य समिति सदस्य उद्धव भट्टराईले सञ्चालन गर्नुभएको सो
अन्तरक्रिया कार्यक्रममा सभापतिको आसनबाट बोल्दैं समाजका अध्यक्ष मदनकुमार
श्रेष्ठले हामी सबैको उद्धेश्य कामदारको हकहित र मलेसियाको अवसरलाई
विवादरहित बनाउने तर्फ उन्मुख हुनुपर्ने जोड दिनुभयो । स्मरणीय छ, वैदेशिक
रोजगार पत्रकार समाजको ९ सदस्यीय प्रतिनिधिमण्डल हाल मलेसियाको अध्ययन
भ्रमण रहेको छ ।