आयुमी फुकाइ हिराचन
आज भन्दा पाँच छ वर्ष अघि नेपाली भाषा सिक्नको लागि नेपालमा मेरो बसाइ
लगातार डेढ वर्ष जति भएको थियो । नेपालको राम्रो क्याम्पस मध्य विश्वभाषा
क्याम्पसमा नेपाली भाषा पढेको थिएँ । त्यहाँ पढ्दा राम्रो विचार भएको
नेपाली साथीहरु पाएँ । डेढ वर्षको मेरो नेपाल बसाईमा एउटा रमाइलो अनुभव के
रह्यो भने नेपाली सँस्कृति चालचलन सिक्न र बुझ्नको लागि नै मैले
सोह«खुट्टेमा एउटा कोठा लिएर बसेको थिएँ । त्यहीबाट आफ्नो कलेज (विश्वभाषा)
जाने आउने गर्थेँ । त्यही क्रममा मेरो कोठा नजिकै एउटा दिदीले तरकारी
बेच्नुहुन्थ्यो । म उहाँकै तरकारी पसलबाट सधै तरकारी किन्ने गर्थें ।
हाम्रो चिनजान नजिकिदै जाँदा ती दिदीले मलाई प्रायः सधैजसो मैले किन्ने
गरेको तरकारीमाथि अलिकति बढि सित्तैमा राखिदिनुहुन्थ्यो । मलाई अचम्म
लाग्थ्यो । जापानमा त यस्तो मन भएको मानिस पाउन पनि सकिदैनथियो । यहाँको
नेपालीको मन साह्रै राम्रो । एक आपसमा सहयोगको भावना हुने । ‘तिमीलाइ
अप्ठ्यारो परेको छ ? भनेर सधै सोध्ने पवित्र मनले मलाइ नेपालीप्रति सधै सिर
झुकाउँछ । नेपाल प्रति मेरो केही दायित्व सहयोग हुनु पर्छ भन्ने भावनाले
गर्दा मेरो बुवा (देवमान हिराचन)को संस्था एसोडेकमा सहयोग गरिरहेकोछु ।
गाउँ गाउँका गरिव बालबालिकाको लागि शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको
एसोडेकले विभिन्न जिल्लामा गरि सत्रवटा स्कुल बनाइ दिएकोछ । जसमा मैले पनि
मेरो कमाइबाट केही रकम एसोडेक मार्फत गाउँका गरिव बच्चाहरुलाई छुट्याएर
सहयोग गर्दै आएकोछु ।
त्यस्तै प्रवासी नेपालीहरुले स्थापना गर्नु भएको
ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीमा पचास लाखको सेयर राखेकोछु जसले
गर्दा नेपालको आर्थिक क्षेत्रमा केही सहयोग पुग्न सकोस् । अझ मेरो पहल के
रहनेछ भने जापानमा रहेका मेरा जापानिज साथीहरुलाई नेपालमा लगानी लगाउन
पे्ररित गर्नेछु । हिमाल, पहाड, तराइ र विभिन्न चराचुरुङ्गी, रङ्गीविरङ्गी
फूल, विभिन्न जातजाति भएको हाम्रो देश नेपाल साँच्चै नै गौरव गर्न लायक छ ।
खाने कुराका अनेक परिकार देखि जातैपिच्छेका भेषभुषाले पनि जो कोहीलाई
आकर्षित गर्नु स्वभाविकै हो । जापान बाहेक म विभिन्न अन्य केही मुलुकमा
पुगेकोछु जहाँ आफ्नोपन, हाँसो ठट्टा, रमाइलो कहिल्यै देख्न पाइदैन । झन
जापानमा त त्यस्तो पटक्कै छैन । कोही साँचो जीवन जिउन चाहान्छौ भने नेपालमा
जाऊ भनेर पनि मैले जापानिज केही साथीहरुलाइ बेलाबेलामा भन्ने गरेकोछु ।
म अनलाइनमा समाचार पढ्दाखेरि होस् या मेरो बुवा (देवमान हिसाचन)ले भने
अनुसार र मेरो नेपाल आउजाउको क्रममा मैले के पाएँ भने जापानिजहरु आफ्नो
देशको लागि काम गर्छन् तर नेपालमा नेपालीहरु आाफ्नो लागि मात्र काम गर्छन्
देशको लागि होइन । हाम्रो देशको विकास नहुनुमा यो पनि मुख्य कारण हो जस्तो
मलाइ लाग्छ । जापानिजहरु पहिला देशको विकास अनि मात्र आफ्नो भन्ने सोचाइ
राख्छन् तर मैले नेपालमा त्यस्तो पाइँन । मलाइ नेपालको विग्रदो राजनिति
अवस्था देखेर चिन्ता लाग्छ । मेरो बुवाले नेपालको सबै कुराको बारेमा
जानकारी गराइरहनु हुन्छ । सुदुरपूर्व देखि सुदुरपश्चिमका बालबालिकाहरुले
पढ्न पाएका छैनन्, राम्रो औषधि उपचार पाएका छैनन् । त्यसैले पनि बेलाबेलामा
झाडापखालाको महामारीले गर्दा कयौंले ज्यान गुमाउनु परेको घटना सबैलाई थाह
भएकै कुरा हो । नेपाल सरकारले त्यस्तो गम्भिर समस्यालाई महत्वका साथ हेरेको
जस्तो मलाई लाग्दैन । उदाहारण लिन सकिन्छ, भरखरै नेपाल सरकारले पास गरेको
बजेट मैले इन्टरनेटमा सर्च गरेर हेरेको थिएँ , त्यस बजेटमा पिछडिएका जिल्ला
र वर्गलाई विषेश छुट्याउनु पर्नेमा त्यो मैले पाउन सकिन ।
त्यसैले मैले के भन्न खोजेको हो भने म जापानमा बसेर यहाँ नेपालमा
विभिन्न क्षेत्रमा गरेको लगानीबाट आएको पैसाले नेपालका गरिव केटाकेटीहरुलाई
शिक्षा , अपाङ्ग, अनाथ, वृद्धाहरुलाइ सहयोग गर्न चाहान्छु । त्यो मेरो
ठूलो सपना हो । हामी धर्मको नाउँमा भगवान खोज्न मन्दिर पुग्छौ, तर ती अनाथ
अपाङ्ग नै हाम्रा लागि भगवान हुन् । हामीले चिन्न नसकेको मात्र हो । हामीले
भोकालाई खान दियौं भने मात्र त्यो खानेकुराको वास्तविक स्वादको महत्व
हुन्छ । अघाएको मान्छेको लागि खानाको स्वाद पनि हुदैन र महत्व पनि हुँदैन ।
म नेपालप्रति सधै सहयोग गर्न र मेरा शिपहरु नेपालका विभिन्न ग्रामिण भेगमा
गएर सिकाउन चाहान्छु । म सधै नेपाल र नेपालीको साथमा रहन चाहान्छु ।
Source : http://www.nrnaksa.org
Source : http://www.nrnaksa.org