लन्डन , माघ ६ - काठमाडौं लन्डन यात्राका क्रममा कतार एयरवेजले आफूहरुलाई
दोहा ट्रान्जिटमा विचल्ली पारिदिएको गुनासो नेपाली यात्रुहरुले गरेका छन् ।
कतार एयरवेजका दोहास्थित कर्मचारीको भेदभाव पूर्ण व्यवहारले आफूहरु दोहामा
९ घण्टा अलपत्र पर्नुपरेको उनीहरुको गुनासो छ ।‘गोरो छाला र कर्मचारी थर्काउन सक्ने यात्रुले भने पालो विपरीत बोर्डिङ पास पाए तर हामी पाँच सोझा नेपालीलाई आश्वासनमात्र दिएर अन्तिममा सिट भरियो भन्दै अलपत्र पारियो’, सो उडानका एक यात्रु नेपाली समाज युकेडटकमका निर्देशक सुशील सिंहले भने । लन्डन आउनुपर्ने आकष्मिक कामले ८ तारिख फर्कने इत्तेहाद ऐयरलाइन्सको टिकट समेत त्यागी २ तरिखमा अर्को नयाँ टिकट किनेर उड्दा झन् विचल्ली हुनुपरेको दुःखेसो सिंहको छ ।
सिंहका अनुसार, उनले गत २ जनवरीका दिन काठमाडौं लन्डनको टिकट लिएका थिए । लन्डनसम्म आउने टिकटको ३६० पाउण्ड तिरेपनि त्रिभुवन विमानस्थल काउण्टरमा कतार ऐयरवेजका कर्मचारीले दोहासम्मको मात्र बोर्डिङ पास दिएर लन्डन उड्ने पास चाहिं दोहामै लिनु भनेका थिए । तर, दोहा आएर काउण्टरमा पास भन्दा भन्दै ५.२० को लन्डन उडान नै छुटेर अन्ततः उनीहरु विचल्ली परे ।
‘त्यहाँका कर्मचारीले लाइनको पहिलो पंक्तिमा रहेका एक नेपालीलाई एकछिन पख्नुस् भनेर साइडमा राखे, म दोश्रोमा थिएँ मलाई पनि त्यही भने । तेश्रो लाइनमा रहेका एक नेपालीले भने थर्काएपछि उनलाई सजिलै पास दिइयो । चौथोमा रहेका वृद्धवृद्धालाई फेरि एकछिन कुर्न भने । तर, पाँचौं पंक्तिमा रहेका एकजना गोरालाई भने उनले मलाई अरु केही थाहा छैन् बोर्डिङ पास चाहिन्छ भनेर थर्काएपछि पास दिए । अन्तिममा बस्ने एक नेपालीलाई भने दिइएन’, सिंहले लन्डनमा घट्ना बेलिविस्तार लगाउँदै भने । सो एयरवेजका कर्मचारीले रंगभेद गर्दै पक्षपात गरेको सञ्चारकर्मीसमेत रहेका उनको आरोप छ ।
विचल्लीमा परेका ति यात्रुले कर्मचारीसंग आक्रोश पोख्दा उनीहरुले टिकट ओभरबुकले अप्ठेरो परेको बताएर उम्किएका विचल्लीमा परेका अर्का एक यात्रुले भने ।
अघिल्लो प्लेन छुटेपछि ति यात्रु राती २.१५ बजे अर्को उडानमा लन्डन उत्रिए । ‘यदि पास दिन सकिंदैन भने शुरुमै भन्नुपथ्र्यो तर दिन्छु दिन्छु भनेर त्यस्तो विचल्ली बनाउनु हुन्थेन सिंह भन्छन् । सिंहले यात्रा गर्दा नेपालीलाई शुरुमै पुरा गन्तव्यको बोर्डिङ पास लिन सुझाव दिए । ‘म झण्डै दुई दशक देखि बेलायत बस्दै आएको सचेत नागरिक त यसरी अलपत्र पर्नु पर्छ भने सर्वसाधारणले आगामी दिनमा यस्तो समस्या भोग्न नपरोस्,’ उनले सचेत गराउँदै भने ।
यस सम्वन्धमा कतार एयरवेजसँग सम्पर्क गर्न भने सम्भव भएन ।