२०१३ जनवरी २० आइतवारका दिन गैरआवासीय नेपाली संघ र नेपाल उद्योग
वाणिज्य महासंघ वीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा
मुख्यतया पहिलै देखिनै हुदै आएका सहकार्यलाई निरन्तरता दिने र भविष्यमा
दुवै संस्थाहरुले देशको आर्थिक उन्नतीको लागि सहकार्य गरेर लगानी,
पर्यटनका साथै अन्य क्षेत्रहरुमा सहयोग गर्ने योजना रहेको छ । गैरआवासीय
नेपाली संघले महासंघले निर्माण गर्न लागेको चौथो तल्लाको हलको लागि सहयोग
स्वरुप रु. १० लाखको चेक उपलव्ध गराएको छ । सो सम्झौता पत्रमा गैरआवासीय
नेपाली संघको तर्फबाट संघका अध्यक्ष जीवा लामिछाने र महासचिव तेञ्जी शेर्पा
एवं महासंघको तर्फबाट अध्यक्ष सुरज वैद्य र बरिष्ठ उपाध्यक्ष भाष्करराज
राजकर्णिकारले हस्ताक्षर गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका
अध्यक्ष सुरज वैद्यले नेपालको आर्थिक क्षेत्रको उन्नतीको लागी नेपालको
विविध क्षेत्रहरुमा सहकार्य गरेर अघि बढ्नु पर्ने बताउनु भयो। साथै उहाँले
महासंघको तल्ला थप्नको लागि सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्नु
भयो । यसै गरी गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले गैरआवासीय
नेपाली संघले आफ्नो स्थापना काल देखि नै नेपाल उद्योग वाणिज्य महासंघसंग
विभिन्न कार्यहरुमा सहकार्य गर्दै आएको र भविष्यमा पनि दुवै संस्थावीच
सहकार्य र सहयोगको निरन्तरता रहिरहने विश्वास व्यक्त गर्नु भयो । सहकार्यकै
सिलसिलामा यस संघले नेपाल उद्योग वाणिज्य महासंघद्वारा संचालित ट्रेड
स्कुल परियोजनाका लागि यस अघि पनि सहयोग उपलव्ध गराईसकेको र आज महासंघको
भवनको तल्ला थप्न सानो सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका, गैरआवासीय नेपाली संघका महासचिव तेञ्जी शेर्पा, महिला मामिला संयोजक रंजु थापा, आइसिसि सदस्य कृष्ण पाण्डे, एनसिसि युकेका अध्यक्ष कुल आचार्य र पूर्व अध्यक्ष मेजर डम्मर घले, अष्ट्रेलियाका एनआरएन शेष घलेका साथै नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक र सचिवालयको उपस्थिति रहेको थियो