Saturday, January 19, 2013

गंगाको जिउज्यान जोगाइदिन अपिल


१० जनवरी २०१३
 बिन्ति श्रेष्ठ
साउदी अरबको जेजान शहरमा यतिखेर मजस्तै एउटी नेपाली चेली गंगा बरालले आफ्नो ज्युज्यान बचाउन उद्धार गरिदिन गुहार मागेकी छिन । एनआरएनए साउदी अरबका अध्यक्षसंग भएको उनको फोन वार्ताको अडियो रेकर्डमा अभिब्यक्त उनको चित्कार सुनेपछि म पनि भाव बिह्वल बनें ।
पहिलो घरमा साउदीको कुटाई खाएपछि बिरामी भएकी उनी अहिले दोस्रो साउदीको घरमा छिन, साउदी मालिकले उपचार पनि नगराइदिएको र स्वदेश फर्किन पनि नदिएको कारण उनले रूंदै फोनमा आफ्नो बेदना पोखेकी छिन ।
नेपालमै आश्यान तामाङ, राजु बि.क. र जिते चौधरीहरूले गंगालाई १५ हजार साउदी रियालमा बेचेर भारत हुंदै साउदी पठाएका रहेछन र अहिले साउदी मालिकले स्वदेश फर्किनका लागि त्यही १५ हजार रियाल फिर्ता दिन भनेका छन र गंगालाई शुरूदेखि नै कुनै पनि तलब दिएका पनि छैनन ।
एनआरएनए साउदी अरबले गंगाको यो अवस्थाको जानकारी गराउंदै उनको उद्धार गरिदिन नेपाली राजदूतावासमा पत्राचार गर्यो । गतः २८ डिसेम्बरमा दमाममाआयोजित एनआरएनएकै एक कार्यक्रममा राजदूत स्वयमले गंगाको प्रसंग निकाल्दै उनको उद्धार गर्न करीब रू. २ लाख जति खर्च हुने भएता पनि दूतावास तयार रहेको तर उनको घर ठेगाना स्पष्ट (यकिन) हुनुपर्यो भन्नुभएकोमा हाल गंगाले आंफू जेजानको गुम्फिजा टोलको मूल सडकबाट केही भित्रको २ वटा प्रवेश द्वार (ठूलो र सानो) भएको 022 नम्बरको ३ तले घरमा आंफू रहेको र घर अगाडी २ वटा फलामका खम्बा रहेको भन्दै घर ठेगाना पनि दिइसकेकी छिन । जेजान रियाद/दमामबाट करीब २ हजार कि.मी.को दूरीमा यमनको सिमानामा अवस्थित साउदी शहर हो । जेद्धाबाट भने यो ७-८ सय कि.मी. मात्र टाढा छ ।
काठमाडौबाट दलाल राजु बि.क.ले गंगाको उद्धारमा सघाउनु त कता कता उल्टो बिरामी गंगालाई धम्क्याउने र तर्साउने गर्दो रहेछन । गंगाको जिउज्यान सांच्चै नै ठूलो जोखिममा छ । यसैले म नेपाली राजदूतावास लगायत साउदी अरबमा रहनुभएका सबै संघ संस्था लगायतका नेपाली दाजूभाईहरू र नेपालमा रहनुभएका सरोकारवाला सबैलाई गंगाको उद्धारका लागि सक्दो पहल गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गंगालाई यो अवस्थामा पुर्याउने सबै दलालहरूलाई पनि कानूनी सजाय दिलाउन आग्रह गर्दछु । नेपालमा आश्यान, राजु र जिते जस्ता दलालहरू हांसिखुशी रहने यता अरबमा गंगाहरू दुखमा रोइरहने नियतिको अन्त्य खोजिनुपनि निकै जरूरी ठान्दछु ।
(अपिलकर्ता /लेखिका एनआरएनए साउदी अरब की सल्लाहकार हुनुहुन्छ ।)
http://www.nrnaksa.org