Friday, January 18, 2013

कन्टेनरमा राखेर ओसारिन्छन् नेपाली

  मानव तस्करको मिलोमतोमा अवैध रूपमा नेपालीलाई जहाजको कन्टेनरभित्र राखेर ओमनबाट तेस्रो मुलुकमा लैजाने गरेको नयाँ तथ्य खुलेको छ । ओमनबाट समुद्री नाका हुँदै इरानमा जाँदै गरेको पछिल्लो नेपाली युवाहरूसहित ३ पाकिस्तानीको समूह पक्राउ परेपछि यो तथ्य खुलेको हो । ओमन प्रहरीले जहाजको कन्टेनरमा राखिएका चार जना नेपालीलाई पक्राउ गरेको हो ।
           प्रहरीले कन्टेनरबाट शिवप्रसाद पौड्याल, केशु धामी, एकराज लुइँटेल र सूर्य तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई थप सोधपुछका लागि ओमनको राजधानी मस्कटबाट तीनसय ५० किलोमिटर टाढा रहेको जेलमा राखिएको छ । उनीहरूलाई गत २३ नोभेम्बरमा ओमनको सोहारको बन्दरगाहबाट पक्राउ गरेको हो,  साउदीस्थित नेपाली दूतावासका ओमन प्रतिनिधि दीपक श्रेष्ठले भने, ‘उनीहरूलाई इरान हुँदै टर्की लान लागिएको रहेछ । यूएईको दुबईबाट उनीहरूलाई हिँडाएर ओमनको बोर्डर छिराइएको थियो । टर्कीका लागि कन्टेनरबाट इरानका लागि प्रस्थान गरेका थिए, श्रेष्ठले भने, मानव तस्करले ओमनलाई ट्रान्जिट बनाउन थालेकाले प्रहरीले खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् । ४ जना नेपालीको साथमा थप कागजात नभएकाले पूरा सूचना पाउन सकिएको छैन । उनीहरूलाई इरानमा रहेका नेपालीको सम्पर्कबाट झिकाएको बुझिएको श्रेष्ठले बताए ।
         गैरआवासीय नेपाली संघ ओमनका अध्यक्ष डीबी क्षेत्रीका अनुभवमा पछिल्लो केही समयदेखि मानव तस्करहरूले ओमनलाई युरोप, अफगानिस्तान र इराकमा नेपाली लैजान नयाँ ट्रान्जिटको रूपमा प्रयोग गरिरहेका छन् । यूएईको दुबईबाट ओमन छिराउन अलि सजिलो छ, उनले भने, यहाँ भित्र्याएपछि समुद्री बाटो प्रयोग गरी गन्तव्य मुलुकमा लैजाने गरेको छ । कास्कीका श्याम श्रेष्ठ अहिले मस्कटमा छन् । ५ वर्षदेखि दुबईमा बस्दै आएका उनी दलालमार्फत ओमान आएका हुन । रातको समयमा ३ घन्टा पैदल हिँडेर सिमाना पार गरी ओमान प्रवेश गरेका थिए, श्यामको भनाइ उद्धृत गर्दै दीपकले भने ।
          केही समयअघि पनि अफगानिस्तान लैजान ल्याइएका १८ जना नेपाली मस्कट सहरको अल खुवैरमा अलपत्र भएका थिए । उनीहरू त्यहाँ भिजिट भिसामा ३ महिनादेखि इराक र अफगनिस्तान जानका लागि समय कुरेर बसेका थिए । अन्य देशमा पठाउने ठूलो तस्कर सञ्जाल यहाँ सक्रिय छ, श्रेष्ठले भने, गुपचुप हुने यो काम कुनै समस्या नभई बाहिर आउन पाउँदैन ।  १८ जना नेपालीलाई बस्ने तथा खाने समस्या भएपछि मात्रै यो रहस्य खुलेको थियो । भिजिट भिसामा ३ महिनाको समय मिल्ने र फेरि १ महिना थप गर्न पाउने व्यवस्था हुनाले धेरै समयसम्म चलखेल गर्नका लागि ओमान केन्द्रविन्दु बन्दै गएको उनले बताए ।
            गत मार्चमा पनि काभ्रेका मनोज खड्का इटाली जाने क्रममा मस्कटमा पक्राउ परेका थिए । उनी लगायत ११ जना बंगलादेशी नागरिक पक्राउ परे, उनले भने, ३ महिना जेलमा बसेर आवश्यक कागजात नेपालबाट मगाएर नेपाल फिर्ता भएका थिए ।